काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ। पर्वका अवसरमा बिहानैदेखि मस्जिद तथा इदगाहहरूमा नमाज अदा गर्ने श्रद्धालुको भीड लागेको छ।
मुस्लिम समुदायले बिहान स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज पढ्ने परम्परा अनुसार आज पनि विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको छ। नमाजपछि एकअर्काबीच शुभकामना आदानप्रदान गरिएको छ।
काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका प्रमुख मस्जिदहरूमा ठूलो सङ्ख्यामा श्रद्धालु भेला भएका छन्।
धार्मिक मान्यताअनुसार अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको घटनाको सम्झनामा बकर इद मनाउने गरिन्छ। अन्तिम समयमा अल्लाह प्रसन्न भई इस्माइलको सट्टा दुम्बाको कुर्बानी भएको विश्वास मुस्लिम समुदायमा रहिआएको छ।
यस पर्वमा अल्लाहप्रति समर्पण र त्यागको भावना व्यक्त गर्दै जायज मानिएका जनावरको कुर्बानी दिने प्रचलन छ। कुर्बानी गरिएको मासु गरिब, आफन्त तथा परिवारबीच बाँडेर खाने धार्मिक परम्परा रहेको छ।
मुस्लिम धर्मगुरुहरूका अनुसार बकर इदको मुख्य उद्देश्य हज यात्रा र मानवताप्रति सहयोग तथा त्यागको भावना अभिव्यक्त गर्नु हो। मुस्लिम समुदायले यो पर्व तीन दिनसम्म मनाउने परम्परा रहेको छ।
पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।




