रुकुम :- सानीभेरी गाउँपालिका–६ देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान कोटगाउँबाट सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदबहादुर पौडेलका अनुसार जिपमा ११ जना सवार थिए। दुर्घटनामा चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने मृतकको सनाखत हुन बाँकी छ।
दुर्घटनामा चार जना गम्भीर र पाँच जना मध्यम घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर माग गरिएको छ।












