काठमाडौं :- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई मानसिक रूपमा तयार रहन निर्देशन दिनुभएको छ।
मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले परिस्थितिअनुसार तत्काल आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताउनुभयो।
‘आन्दोलन सधैँ लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन, असह्य भएपछि तत्काल आन्दोलन निस्किन्छ,’ उहाँले भन्नुभयो।
सन् १९१७ मा भएको रुसी विद्रोहको उदाहरण दिँदै ओलीले कतै विद्रोहबाट, कतै निर्वाचनबाट त कतै उपद्रवबाट सत्ता परिवर्तन हुने गरेको उल्लेख गर्नुभयो।
उहाँले पार्टीको केन्द्रीय कमिटी बैठकले आन्दोलनमा जाने विषयमा निर्णय गरिसकेको बताउँदै जुनसुकै समयमा आन्दोलनमा जानुपर्ने हुन सक्ने भएकाले मानसिक रूपमा तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गर्नुभयो।












