काठमाडौं :- प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको अवलम्बन अपरिहार्य रहेको बताएका छन्।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आज आयोजित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगसँगै सिर्जना भएका चुनौती सम्बोधन गर्न आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताएका हुन्।
‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान: वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषयवस्तु ‘वित्तीय अपराध अनुसन्धान: प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ।
कार्यक्रममा एआईजी, डीआईजी, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।












