काठमाडौँ :- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ५०० ग्राम थाई गाँजासहित एक भारतीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका २२ वर्षीय सलमान रहेका छन्। उनलाई शनिबार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विमानस्थलबाट पक्राउ गरेको हो।
ब्युरोका अनुसार सलमानको साथबाट थाइल्यान्डबाट ल्याइएको ३ किलो ५०० ग्राम गाँजा बरामद गरिएको छ। उनी नयाँ दिल्लीबाट काठमाडौं आएका थिए।
प्रहरीका अनुसार थाइल्यान्डबाट गाँजा पठाइएको विमान काठमाडौं आइपुग्ने समय मिलाएर सलमान दिल्लीबाट काठमाडौं आएका थिए। विमानस्थलमा ओर्लिएपछि थाइल्यान्डबाट आएको गाँजाको लगेज रिसिभ गरी बाहिरिने क्रममा उनलाई पक्राउ गरिएको हो।
घटनाबारे लागुऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान गरिरहेको जनाएको छ।












