नुवाकोट :- नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन्।
बाढी गएको ४९औँ दिनका अवसरमा नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा बौद्ध परम्पराअनुसार लामाहरूले मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा गरेका हुन्। पूजामा सहभागी प्रचण्डले बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड विशेष घेवामा सहभागी भएर मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न बेत्रावती पुगेका हुन्।












