काठमाडौं :- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोराहरूले जेलमा आफ्ना बुबालाई शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाउँदै तत्काल उपचार र परिवारसँग सम्पर्कको व्यवस्था नगरिए ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्।
स्काई न्युजसँगको अन्तर्वार्तामा सुलेमान इसा खान र कासिम खानले आफ्ना ७४ वर्षीय बुबालाई अडियाला जेलमा दैनिक २२ देखि २३ घण्टासम्म एकान्त कारावासमा राखिएको र स्वतन्त्र चिकित्सकको पहुँचबाट वञ्चित गरिएको दाबी गरेका छन्। उनीहरूका अनुसार खानको रक्तचाप करिब १९३ पुगेको छ र उनलाई तत्काल उपचार आवश्यक छ।
छोराहरूले सर्वोच्च अदालतले गत अगस्ट १८ मा खानलाई सिफा अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउन तथा परिवारसँग नियमित टेलिफोन सम्पर्कको व्यवस्था गर्न दिएको आदेशसमेत कार्यान्वयन नभएको आरोप लगाएका छन्।
खानले हालै सार्वजनिक गरेको खुला पत्रमा पनि आफ्नो रक्तचाप १९२ देखि १९३ सम्म पुगेको, मस्तिष्कमा रक्तस्राव तथा हृदयाघातको उच्च जोखिम रहेको र दाहिने आँखाको ८५ प्रतिशत दृष्टि गुमाएको उल्लेख गरेका छन्। उनले सन् २०२५ डिसेम्बर २० देखि दैनिक २२ घण्टा एकान्त कारावासमा राखिएको तथा भेटघाट र कानुनी परामर्शमा प्रतिबन्ध लगाइएको बताएका छन्।
छोराहरूका अनुसार उनीहरूले बुबासँग अन्तिम पटक गत मार्च २२ मा फोनमा कुरा गरेका थिए। सन् २०२२ नोभेम्बरयता उनीहरूले व्यक्तिगत रूपमा भेट्न पाएका छैनन्। हत्याको प्रयासमा गोली लागेर घाइते भएको केही समयपछि सन् २०२३ अगस्टमा खान पक्राउ परेका थिए।
अदालतको आदेशअनुसार खानलाई निजी अस्पतालमा उपचारका लागि सार्नुपर्ने भए पनि अधिकारीहरूले उनलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा केही समय राखेर पुनः जेल फर्काएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
सूचना मन्त्री अत्ताउल्लाह तरारले सुरक्षा चुनौतीका कारण यस्तो व्यवस्था गरिएको बताएका थिए। तर, पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले सरकारको उक्त तर्क अस्वीकार गरेको छ।
यसैबीच, खानले जेलमा रहेकी पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन्। सन् २०२५ जनवरीदेखि जेलमा रहेकी बुशरा बीबीले गत अप्रिलमा आँखाको जटिल शल्यक्रिया गराएको र उनको दृष्टि स्थायी रूपमा गुम्न सक्ने जोखिम रहेको खानले बताएका छन्।












