काठमाडौँ :- नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको गुनासो आएको भन्दै अनिवार्य रूपमा भ्याट बिल जारी गर्न आग्रह गरेको हो ।
निगमका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि २०८१ साउन ३० र माघ १० गते सम्बन्धित सङ्घलाई पत्राचार गरिएको स्मरण गराइएको छ ।
निगमले ग्यास उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गरी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।












