काठमाडौं :- रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हालसम्म करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ। सरकारले कोषमा जम्मा भएको सहयोग रकममध्ये यसअघि एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको जनाएको छ।
कार्यालयका अनुसार कोषका विभिन्न नौ वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको जनाइएको छ।












