काठमाडौं :- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले उक्त आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका थिए । उनले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने निर्णय बदर गरी पुनर्बहाली गर्न माग गरेका छन् ।












