काठमाडौँ :- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो ४:३० बजे सुरु हुनेछ । दोस्रो क्वालिफायरमा स्थान बनाउन दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् ।
आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि बिहीबार पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।
दोस्रो क्वालिफायर जित्ने टोलीले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
अंक तालिकामा काठमाडौँ गोर्खाज तेस्रो र चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् ।
काठमाडौँले सात खेलमध्ये चारमा जित र तीनमा हार बेहोरेको थियो । त्यस्तै, चितवनले सात खेलमध्ये तीनमा जित, तीनमा हार र एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्दै प्लेअफमा स्थान बनाएको हो ।












