काठमाडौं :- ८० लाख रुपैयाँको चेक अनादर सम्बन्धी बैंकिङ कसुरमा अदालतबाट दोषी ठहर भएका प्रशान्त बहादुर पाठक पक्राउ परेका छन्। उनलाई आज काठमाडौंको नारायणथानबाट पक्राउ गरिएको हो।
काभ्रेपलाञ्चोक जिल्ला अदालतले पाठकलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा तीन महिना कैद र चार लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। अदालतले जाहेरवाला टिकाबहादुर तामाङ धावा लाई पाठकबाट ८० लाख रुपैयाँ बिगो तथा कानुन बमोजिमको ब्याज समेत भराउन आदेश दिएको छ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले २०८३ जेठ ११ गते गरेको फैसला अनुसार पाठकले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै ८० लाख रुपैयाँको चेक जारी गरेका थिए। चेक भुक्तानीका लागि पटकपटक बैंकमा पेस गर्दा खातामा पर्याप्त रकम नभएको भन्दै चेक फिर्ता भएको प्रमाणका आधारमा अदालतले उनलाई बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो।
अदालतको फैसलामा उल्लेख भएअनुसार जाहेरवाला तामाङले काठमाडौंको बालाजु क्षेत्रमा जग्गा साझेदारीमा प्लटिङ गर्ने प्रयोजनका लागि भानुमती तिवारीलाई विभिन्न समयमा नगद तथा बैंक खातामार्फत एक करोड ३१ लाख रुपैयाँ दिएको दाबी गरेका थिए।
जग्गा सम्बन्धी विवाद उत्पन्न भएपछि रकम फिर्ता माग्दा तिवारीले उनको व्यापारिक पार्टनर पाठकको चेक तामाङलाई दिएको थियो । उनीहरूबीच भएको सहमति अनुसार तामाङले पाउनुपर्ने रकम मध्ये ८० लाख रुपैयाँ पाठकले दिने गरी चेक जारी गरिएको थियो।
पाठकले नबिल बैंक लिमिटेडको खिचापोखरी शाखामा रहेको आफ्नो खाताबाट २०८१ मंसिर ३० गते भुक्तानी हुने गरी तामाङका नाममा चेक काटेका थिए। तर, उक्त चेक २०२४ डिसेम्बर १६, १९ र २३ मा भुक्तानीका लागि पेस गर्दा खातामा पर्याप्त रकम नभएको भन्दै बैंकले फिर्ता गरेको थियो। चेक बाउन्स भएपछि रकम जम्मा गरिदिने भन्दै पाठकले पटकपटक आलटाल गरेको तामाङको जाहेरीमा उल्लेख छ।
पाठकका नाममा अदालतबाट जारी गरिएको म्याद पटकपटक तामेल हुन नसकेपछि २०८२ फागुन ११ गते राष्ट्रिय दैनिक पत्रिका मार्फत सूचना प्रकाशित गरिएको फैसलामा उल्लेख छ। त्यसपछि पनि उनी अदालतमा उपस्थित नभई सुरु म्याद नै गुजारी बसेका थिए।
अदालतले सक्कल चेक, बैंकको पत्र तथा चेकसम्बन्धी प्रतिवेदन लगायत प्रमाण अध्ययन गर्दै पाठकले खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै चेक जारी गरेको निष्कर्ष निकालेको थियो।
बैंकिङ कसुर तथा सजाय ऐनको संशोधित व्यवस्था अनुसार अदालतले पाठकलाई तीन महिना कैद र ८० लाख रुपैयाँ बिगोको पाँच प्रतिशत अर्थात् चार लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
त्यसैगरी, चेक जारी गरेको मितिदेखि बिगो भराउँदा सम्मको अवधिको कानुन बमोजिमको ब्याजसमेत तामाङलाई भराउन आदेश दिइएको छ। अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम १६ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउन समेत अदालतले भनेको छ।
अदालतको आदेशअनुसार बिगो असुलीको प्रक्रिया फैसला अन्तिम भएपछि कानुन बमोजिम अघि बढ्नेछ।












