
धादिङ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको धादिङको कृष्णभीर सडकखण्डमा पुनः पहिरो खस्न थालेको छ। लगातार दुई दिनदेखि भइरहेको वर्षाका कारण कृष्णभीरमा माथिबाट पहिरो खस्न थालेको हो।
पहिरोका कारण सडकको तलतर्फ निर्माण गरिएको सपोर्ट वालसमेत भासिएको छ। निरन्तर वर्षा भइरहेकाले उक्त सडकखण्ड थप जोखिममा परेको छ।
यसैगरी, पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि यातायात सञ्चालनमा समस्या भएको हो।
सडकमा पहिरो खस्ने क्रम जारी रहेकाले राजमार्गको आवागमन प्रभावित भएको छ। राजमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक मर्मतको काम अघि बढाउने तयारी गरेको छ।
वर्षा अझै जारी रहेकाले कृष्णभीरलगायत पृथ्वी राजमार्गका जोखिमयुक्त सडकखण्डमा थप पहिरो खस्न सक्ने सम्भावना रहेको भन्दै यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।











