काठमाडौँ :- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाबारे पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको छ।
सोमबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथि भएको छलफलका क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो।
हाल नेपाली चलचित्र क्षेत्रमा विदेशी लगानीमा प्रतिबन्ध रहेको छ। २०२६ सालको अवधारणाअनुसार चलचित्र क्षेत्रमा विदेशी लगानी निषेध गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले उक्त व्यवस्थाको औचित्य र वर्तमान सान्दर्भिकताबारे समीक्षा गर्नुपर्ने बताउनुभयो।
चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधिको विकास र लगानीका नयाँ सम्भावनालाई सम्बोधन गर्न पुरानो कानुनी व्यवस्थामा परिमार्जन गर्न लागिएको उहाँको भनाइ छ।
चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सक्ने उद्योगका रूपमा विकास गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।












