वीरगञ्ज :- पर्सा प्रहरीले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने अभियानअन्तर्गत गत कात्तिक महिनामा १२२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा जिल्लामा ११८ वटा विभिन्न अपराधका घटना दर्ता भएका थिए।
प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा थप ८५ जनालाई पक्राउ गरी ३२ लाख ७ हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने फैसला कार्यान्वयन प्रक्रियालाई अघि बढाएको जनाएको छ।
त्यस्तै, लागुऔषध नियन्त्रण अभियानअन्तर्गत १४ वटा मुद्दा दर्ता गरी १७ जनालाई पक्राउ गरिएको छ। प्रहरीले ३१ वटा सचेतनामूलक कार्यक्रममार्फत ५१४ जनालाई लागुऔषध दुरुपयोगविरुद्ध सचेतना दिएको जनाएको छ।
अपराध न्यूनीकरणका लागि प्रहरीले जिल्लाका विभिन्न स्थानमा सीसीटीभी जडान, डिजिटल निगरानी, नियमित गस्ती, मोबाइल क्विक रेस्पोन्स टोली परिचालन तथा सीमा क्षेत्रमा निगरानी बढाएको जनाएको छ। साथै, आपराधिक पृष्ठभूमि भएका व्यक्तिको ३५ वटा प्रोफाइलसमेत तयार गरिएको प्रहरीले जनाएको छ।












