चितवन :- सहकारीमा बचत गरेको रकम फिर्ता नपाएर समस्यामा परेका बचतकर्ताले सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसमक्ष आफ्ना पीडा सुनाएका छन्।
कार्यक्रममा ८४ वर्षीय पूर्वप्राध्यापक विष्णुप्रसाद सापकोटाले परिवारको रु तीन करोड ५० लाख शिवशिखर सहकारीबाट फिर्ता नपाएको गुनासो गर्नुभयो। उहाँले बुढेसकालमा धर्मकर्म गरेर जीवन बिताउने सोचले घर बिक्री गरी बचत गरेको रकमसमेत गुमाउनुपरेको पीडा सुनाउनुभयो।
त्यस्तै, मकै बेचेर र अरूको घरमा काम गरेर जम्मा गरेको रकमदेखि जग्गा बिक्री गरेर सहकारीमा राखेको पैसा फिर्ता नपाएको गुनासो अन्य पीडितले पनि गरेका थिए।
पीडितका समस्या सुनेपछि मन्त्री रावलले रकम फिर्ता र मुद्दाको शीघ्र सुनुवाइका लागि विशेष डेस्क तथा बेन्च स्थापनाको पहल भइरहेको बताउनुभयो।












