काठमाडौँ :- प्रतिनिधिसभाको विशेष समयमा सांसदहरूले भोटेकोशी बाढीमा उद्धार कार्य, न्यायपालिकाको अवस्था र हवाई सुरक्षासम्बन्धी विषयमा धारणा राखेका छन्।
राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रसुवामा भोटेकोशी बाढीका कारण प्रभावित नागरिकको उद्धारमा सरकार गम्भीर हुनुपर्ने बताए। सुरुङमा फसेका व्यक्तिलाई समयमै उद्धार गर्न सकेको भए जीवितै उद्धार गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै उनले ढिलाइका कारण शव निकाल्नुपरेको गुनासो गरे।
रास्वपाका सांसद यज्ञमणी न्यौपानेले न्यायपालिकालाई समयसापेक्ष बनाउन पुनःसंरचनाको आवश्यकता औँल्याए। उनले न्यायालय विधिअनुसार सञ्चालन हुनुपर्ने भन्दै न्यायाधीशको सम्पत्ति छानबिन गर्न आग्रह गरे।
यसैगरी, कांग्रेस सांसद मदनकृष्ण श्रेष्ठले हवाई सुरक्षामा सम्झौता गर्न नहुने बताए। उनले नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधारमा सरकारको ध्यान जानुपर्ने धारणा राखे।












