सिन्धुपाल्चोक :- बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेमा रहेको सुकुटे कबर्डहलको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा मन्त्री पौडेलले कबर्डहलको वर्तमान अवस्था, निर्माणको प्रगति, आवश्यक पूर्वाधार तथा निर्माण कार्य सम्पन्न गर्न बाँकी रहेका विषयमा जानकारी लिनुभएको थियो।
सो अवसरमा उहाँले खेलकुद क्षेत्रको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्थानीयस्तरमा खेलकुद गतिविधिलाई व्यवस्थित र संस्थागत बनाउन आवश्यक पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई युवाको प्रतिभा पहिचान, अनुशासन, स्वास्थ्य र सामाजिक एकताको महत्वपूर्ण आधारसमेत भएको उहाँको भनाइ थियो।
मन्त्री पौडेलले सुकुटे कबर्डहल स्थानीय खेलाडी, युवा तथा खेलप्रेमी नागरिकको साझा आवश्यकता भएकाले यसको निर्माणलाई थप ढिलाइ हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। बागमती प्रदेश सरकारको तर्फबाट आवश्यक बजेट तथा निर्माण प्रक्रियालाई अगाडि बढाउँदै यसै आर्थिक वर्षभित्र कबर्डहलको निर्माण कार्य सम्पन्न गर्ने गरी काम अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो।
उहाँले सम्बन्धित निकायलाई निर्माण कार्यको आवश्यक तयारी, समन्वय र कार्यान्वयन प्रक्रियालाई तीव्रता दिन आग्रह गर्दै विनियोजित स्रोतसाधनको प्रभावकारी उपयोग, गुणस्तरीय निर्माण र निर्धारित समयसीमाभित्र आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।
स्थानीय तहमा खेलकुद पूर्वाधारको विस्तार गर्दै प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उपयुक्त वातावरण निर्माण गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेको छ। सुकुटे कबर्डहल निर्माण सम्पन्न भएपछि यस क्षेत्रको खेलकुद गतिविधि सञ्चालन र खेलाडीको अभ्यास तथा प्रतियोगिता आयोजनामा थप सहजता पुग्ने अपेक्षा गरिएको












