काठमाडौं :- प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयक पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डीएनए परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेशस्तरसम्म विस्तार गर्न विधेयक ल्याइएको बताउनुभयो। उहाँले तथ्याङ्क अनधिकृत रूपमा बाहिरिन नदिने व्यवस्था विधेयकमा गरिएको जानकारी दिनुभयो।
यसअघि विधेयकमाथिको छलफलमा विभिन्न सांसदहरूले भाग लिँदै आ–आफ्ना धारणा व्यक्त गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक असोज १५ गते बिहान ११ बजे बस्नेछ।












