काठमाडौं :- काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।
एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको हो।
नियन्त्रणमा पर्नेहरूमा बङ्गलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बङ्गलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्।
रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्दा नौ जना बङ्गलादेशी नागरिकका १४ थान राहदानी र ठूलो संख्यामा आर्थिक लेनदेनको विवरण उल्लेख गरिएका दुई थान डायरी फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एक जना बङ्गलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ।
नियन्त्रणमा लिइएका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको छ।












