काठमाडौँ :- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एलपी ग्यासको सम्भावित अभावलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई समेत ग्यास बिक्री वितरणको अनुमति दिने तयारी गरेको छ।
मन्त्रालयका सचिव रुद्रसिंह तामाङले विकास, आर्थिक मामिला तथा सुशासन समितिको कार्यक्रममा सुरक्षा निकायका आउटलेटबाट ग्यास वितरण गर्ने व्यवस्था मिलाउन लागिएको बताउनुभएको हो।
सचिव तामाङका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका छन्। अब यस्ता आउटलेटमध्ये कम्तीमा एक–दुईवटामा ग्यास बिक्रीको व्यवस्था गर्न सके आपूर्ति संकटका बेला राज्यलाई सहज हुने उहाँले बताउनुभयो।
ग्यास आपूर्तिमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै आवश्यक व्यवस्थापन र पूर्वतयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो।












