काठमाडौं :- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी शैलीतर्फ अघि बढेको आरोप लगाएका छन्। उनले सरकारका पछिल्ला निर्णय तथा देशमा भएका घटनाक्रमले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले लोकतान्त्रिक मूल्य र मान्यताविपरीतका गतिविधि पार्टीलाई स्वीकार्य नहुने स्पष्ट पारे। सरकारलाई जवाफदेही बनाउनु र लोकतान्त्रिक व्यवस्थाको संरक्षण गर्नु प्रतिपक्षको दायित्व भएको उल्लेख गर्दै उनले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।
सञ्चार गृहमा प्रहरी प्रवेश गरी धरपकड गर्ने र पत्रकार पक्राउ गर्ने घटनाले शाहीकालको स्मरण गराएको टिप्पणी गर्दै थापाले यस्ता गतिविधिलाई सामान्य रूपमा लिन नसकिने बताए। सञ्चारमाध्यममाथि भएको धरपकडको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको माग छ।
उनले रास्वपालाई आफ्नो नेतृत्वको सरकारलाई सीमाभित्र राख्नसमेत आग्रह गरेका छन्। तत्काल संसदीय दलको बैठकमार्फत प्रधानमन्त्रीलाई निर्देशन दिई घटनामा संलग्न दोषीमाथि कारबाही गराउन उनले सुझाव दिएका छन्।












