काठमाडौँ :- दशैं मनाउन आफ्नो घर जाने यात्रुका लागि सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ। बुकिङ सुरु हुनुअघि नै काठमाडौंस्थित नयाँ बसपार्कमा यात्रुको चहलपहल बढेको छ।
यात्रुको चापलाई व्यवस्थित गर्न लोत्से बहुउद्देश्यीय प्रालिले बसपार्क क्षेत्रमा १५ वटा थप टिकट काउन्टरको व्यवस्था गरेको छ। टिकट लिन आउने यात्रुलाई सहज सेवा प्रदान गर्न र सुरक्षाको उचित प्रबन्ध मिलाइएको कम्पनीले जनाएको छ।
यातायात व्यवस्था विभागमा असोज २० गते सरोकारवाला निकायबीच भएको छलफलपछि असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको थियो। बैठकमा विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिहरू सहभागी थिए।












