काठमाडौँ :- कलाकार मनोज गजुरेलले चलचित्र ‘ककाकिकी’को प्रचारात्मक प्रस्तुतिका क्रममा दर्शकमा भ्रम र असुविधा सिर्जना भएको भन्दै क्षमायाचना गरेका छन्।
उनले आज सामाजिक सञ्जालमार्फत शनिबार चलचित्रका लागि खिचिएको दृश्य तथा प्रचारात्मक प्रस्तुतिप्रति दुःख व्यक्त गर्दै त्यसबाट धेरै दर्शकमा भ्रम उत्पन्न भएको स्वीकार गरेका हुन्।
गजुरेलले आफू व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा विश्वास गर्ने व्यक्ति भएको स्पष्ट पारेका छन्। तर उक्त प्रचारात्मक प्रस्तुतिमा आफू पनि सहभागी हुन पुगेको उल्लेख गर्दै दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति क्षमायाचना गरेका छन्।
उनका अनुसार समाजको मनोविज्ञान संवेदनशील रहेको अवस्थामा मनोरञ्जनका नाममा अनावश्यक भ्रम सिर्जना गर्नु उचित हुँदैन। प्रचारप्रसारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।
नियत राम्रो हुँदाहुँदै पनि कहिलेकाहीँ निर्णयमा त्रुटि हुन सक्ने भन्दै गजुरेलले त्यस्ता गल्ती स्वीकार गर्नु र सुधार्नु सर्जकहरूको दायित्व भएको बताएका छन्।












