काठमाडौँ :- काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ।
सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै निर्माण गरिएको उक्त पुलको भौतिक प्रगति अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय, काठमाडौँले जनाएको छ।
पुल सञ्चालनमा आएपछि पैदलयात्रुलाई सुरक्षित रूपमा सडक पार गर्न सहज हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख सुबोध देवकोटाका अनुसार विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई सुरु भएको पुल यसै हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
उक्त पुल निर्माणका लागि रु. २ करोड ५२ लाख ४५ हजार ९५३ लागत निर्धारण गरिएको थियो। पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको छ।












