काठमाडौँ :- निर्वाचन आयोगले प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै नागरिकलाई आफ्नो विवरण जाँच गर्न आग्रह गरेको छ।
आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको सूचीमा भदौ १५ गतेसम्म नाम दर्ता गराएका मतदाताको विवरण समावेश गरिएको छ। नाम, थर वा जन्ममितिमा त्रुटि भए असोज १२ गतेसम्म अनलाइनमार्फत सच्याउन निवेदन दिन सकिनेछ।
त्यस्तै, मतदाता बन्न अयोग्य व्यक्तिको नाम समावेश भएको पाइएमा त्यसविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिने आयोगले जनाएको छ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्रसँग आबद्ध मतदाताले अनलाइन प्रणालीबाटै आफ्नो तस्बिर तथा बायोमेट्रिक्स विवरण पेस गर्न सक्नेछन्। एनआईडीमा आबद्ध नभएका नागरिकले भने सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ।












