काठमाडौँ :- प्रधानमन्त्री बालेन्द्र शाह आजदेखि दुई दिने भारत भ्रमणमा रहनुहुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ नयाँ दिल्ली जान लाग्नुभएको हो।
प्रधानमन्त्री शाह दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्नुहुनेछ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार उहाँ अपराह्न ३ः४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ। विमानस्थलमा भारत सरकारका राज्यमन्त्री जितिन प्रसादले उहाँलाई स्वागत गर्नुहुनेछ।
भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता हुनेछ। साथै, दुवै देशका उद्योगी तथा व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ, जसमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसमेत सहभागी हुनुहुनेछ।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नुहुनेछ।












