झापा :- झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिको अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएका छन् भने करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ करिब ७ः२० बजे सुरु भएको आगलागी सोमबार बिहान करिब ६ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
आगलागीमा प्लान्टमा भण्डारण गरिएको साढे ९ हजार लिटर लाइट डिजेल आयल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। साथै, अलकत्रा लोड गरिएको को १ ख १८०० नम्बरको ट्रकमा करिब २ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
आगलागीमा परी ट्रक चालक इलामको माङसेबुङ गाउँपालिका–३ का ३५ वर्षीय काफियात राई घाइते भएका छन्। उनको खुट्टा तथा शरीरका विभिन्न भागमा आगोले पोलेको प्रहरीले जनाएको छ।
प्रज्वलनशील पदार्थमा आगलागी भएकाले नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।












