चितवन :- बिहीबारदेखि परेको वर्षाका कारण नारायणी नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल नदीको पानीको सतह ८.३० मिटर पुगेको छ।
कार्यालयका प्रमुख सुमित अधिकारीका अनुसार नारायणीमा ७.३० मिटरलाई सतर्कता तह मानिन्छ भने ९ मिटर पुगेपछि खतरा तह मानिन्छ। नदीको बहाव निरन्तर बढिरहेको भन्दै थप वर्षा भए जोखिम अझ बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
हालसम्म नदी किनारका बस्तीमा पानी पसिनसकेको भए पनि थप वर्षा भए ठूलो बाढी आउन सक्ने अधिकारीले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको जानकारी दिए। उनले सम्भावित विपद्का लागि सुरक्षा निकायलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको तथा सूचना प्रवाह र पूर्वतयारीका काम भइरहेको बताए।












