काठमाडौँ :- नेकपा (एमाले)ले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने भएका छन्।
एमालेका अनुसार पार्टीको इतिहासमै पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो।
माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलाको उद्घाटन मङ्सिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। भेलामा पूर्वराष्ट्रपति तथा पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारीले पनि विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भेलामा केन्द्रीय कमिटी, प्रदेश तथा जिल्ला कमिटी, पालिका कमिटीका पदाधिकारी, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलगायत विभिन्न तहका नेता तथा जनप्रतिनिधिको सहभागिता रहनेछ।
राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्ने, पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारी व्यवस्थित गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको एमालेले जनाएको छ।
भेलामा अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा राजनीतिक र वैचारिक विषयमा धारणा राख्नेछन्। त्यस्तै, पार्टीका उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
एमालेले उक्त भेलालाई पार्टीका सबै तहको प्रतिनिधित्व रहने बृहत् राष्ट्रिय कार्यक्रमका रूपमा लिएको छ।












