काठमाडौं :- दसैँ, तिहार तथा छठ पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि विभिन्न छुट तथा सहुलियतसहितको ‘दसैँ–तिहार अफर, २०८३’ सार्वजनिक गरेको छ। अफरमा इन्टरनेट जडान शुल्कमा छुट, वार्षिक प्याकेजमा एक महिना बोनस तथा मोबाइल डाटा, भ्वाइस र एसएमएसका विशेष प्याकेज समावेश छन्।
इन्टरनेट जडानमा ५०० रुपैयाँ छुट
नयाँ एफटीटीएच इन्टरनेट जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क छुट पाउनेछन्। यो सुविधा असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ प्याकेज जडान गर्ने ग्राहकका लागि लागू हुनेछ।
१००, १५० र २०० एमबीपीएसका वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले १२ महिनाको शुल्कमा १३ महिनासम्म इन्टरनेट चलाउन पाउनेछन्। बोनसमा प्राप्त मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिनेछ। भर्चुअल सेटअप बक्ससहितको प्याकेजमा एक हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ।
४९९ र ६९९ रुपैयाँका मोबाइल प्याकेज
टेलिकमले मोबाइल ग्राहकका लागि दुई प्रकारका ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज सार्वजनिक गरेको छ। ४९९ रुपैयाँको प्याकेज: प्रतिदिन पाँच जीबी उच्च गतिको डाटा। सीमा सकिएपछि दुई एमबीपीएस गतिमा असीमित डाटा। ६९९ रुपैयाँको प्रिमियम प्याकेज: प्रतिदिन १० जीबी उच्च गतिको डाटा। सीमा सकिएपछि तीन एमबीपीएस गतिमा असीमित डाटा।
भ्वाइस र एसएमएसमा पनि सहुलियत
कम्पनीले २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज ल्याएको छ। त्यस्तै, ९९ रुपैयाँमा नेपाल टेलिकमको नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज उपलब्ध हुनेछ। दुवै मोबाइल प्याकेजको अवधि ३० दिनको हुनेछ।
मोबाइल अफर असोज ३० देखि कात्तिक ३० गतेसम्म उपलब्ध हुनेछ। ग्राहकले ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपबाट आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन्।












