काठमाडौँ :- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
थाइल्यान्डको बैङ्ककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लाङटाङको लिरुङमा हिमपहिरो र बूढीगण्डकी क्षेत्रमा पहिरोका कारण भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराउनुभयो।
मन्त्री श्रेष्ठका अनुसार विपद्बाट करिब २.७ अर्ब अमेरिकी डलरबराबरको क्षति भएको छ भने पुनर्निर्माणका लागि करिब ४.८ अर्ब डलर आवश्यक पर्ने आकलन गरिएको छ।
उहाँले सन् २०२६ देखि २०३० सम्म उपग्रहबाट प्राप्त तथ्याङ्कको आदानप्रदान, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोग सुदृढ बनाउन आग्रह गर्दै नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने प्रतिबद्धता पनि दोहोर्याउनुभयो।
यसैबीच, बिहीबार नेपाल र संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (इएससीएपी) को संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्मः भोटेकोशी–त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवाद आयोजना हुने उहाँले जानकारी दिनुभयो।












