काठमाडौं :- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत जबरालाई पक्राउ गरिएको भन्दै नेपालको प्रचलित कानून, संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको टिप्पणी गरेका छन्। उनले यस्तो कार्यलाई समर्थन गर्नु स्वेच्छाचारी प्रवृत्तिलाई प्रोत्साहन गर्नु भएको उल्लेख गर्दै गलत कार्यको खबरदारी गर्न आग्रह गरेका छन्।
पूर्वप्रधानन्यायाधीश जबरालाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। प्रारम्भिक रूपमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको भए पनि पछिल्लो प्रतिक्रियामा सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा ल्याइएको र औपचारिक रूपमा पक्राउ नगरिएको बताएको छ।
जबरालाई कुन कारणले नियन्त्रणमा लिइएको हो र सुरक्षा चुनौती के थियो भन्नेबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।












