सिरहा :- सिरहामा घरेलु हतियार खुकुरी प्रदर्शन गर्दै अश्लील अभिव्यक्ति र समाजमा डरत्रास फैलाउने किसिमको टिकटक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ निवासी २१ वर्षीय महमद आशिक अन्सारी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार अन्सारीले खुकुरी प्रदर्शन गर्दै अश्लील भाषा प्रयोग गरी सामाजिक शान्ति भंग गर्ने तथा समाजमा आतंक र डरत्रास फैलाउने किसिमको भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निमित्त प्रवक्ता नरेश लिम्बुले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
यसैबीच, सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरी धाकधम्की, रंगदारी तथा डरत्रास झल्किने सामग्री पोस्ट गर्ने अन्य व्यक्ति तथा समूहसमेत प्रहरीको निगरानीमा रहेको जनाइएको छ। प्रहरीले यस्ता गतिविधिमा संलग्न नहुन र सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।












