काठमाडौं :- आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै नेकपा (एमाले) ले पार्टीको तल्लो तहसम्म सङ्गठन सुदृढीकरण गर्ने तयारी थालेको छ। यसक्रममा पार्टीले वडा कमिटीको अधिवेशन मङ्सिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको छ।
एमालेका केन्द्रीय प्रचार प्रमुख निरज आचार्यका अनुसार अधिवेशनमार्फत वडा तथा पालिका तहमा नेतृत्व पुनर्गठन गरिनेछ। प्रदेश र जिल्ला तहका नेतृत्व तथा जनप्रतिनिधिलाई एकीकृत रूपमा परिचालन गरी पार्टी सङ्गठनलाई थप सक्रिय बनाउने योजना पनि एमालेले अघि सारेको छ।
पार्टीले जनतासँग प्रत्यक्ष संवाद र घरदैलो अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। त्यसैगरी, २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका घटनाक्रम, लोकतान्त्रिक प्रक्रियामा परेको असर, निर्वाचनको वातावरण र पार्टीमाथि लागेका आरोपबारे समीक्षा भइरहेको आचार्यले बताए। पार्टीले आफ्ना कमजोरी पहिचान गरी सुधारका उपाय खोज्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ।
एमालेले जनजीविकासँग जोडिएका विषयलाई राजनीतिक कार्यसूचीको केन्द्रमा राख्नुपर्ने बताएको छ। महँगी नियन्त्रण, रोजगारी सिर्जना, किसानको उत्पादनको उचित मूल्य, मजदुरको श्रमको सम्मान, साना उद्यमीमाथिको करभार, विद्यार्थीको भविष्य, शिक्षकका समस्या, स्वास्थ्योपचार खर्च, महिला सुरक्षा र सुकुमवासीको आवासलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने पार्टीको धारणा छ।
सीमावर्ती नागरिकको सम्मान र प्रवासी नेपालीका समस्यालाई समेत पार्टीको दैनिक राजनीतिक कार्यसूचीमा समेट्नुपर्नेमा एमालेले जोड दिएको छ।
तीन दिनदेखि जारी एमाले स्थायी कमिटीको बैठक आज पनि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यक्रम छ।












