काठमाडौँ :- जिल्ला अदालत सिरहाको परिसरबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय सतीश दास पक्राउ परेका छन्। सिरहा नगरपालिका–१४ खिरौनाका दासलाई नेपाल–भारत दशगजा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध ब्राउन सुगरसहित असोज २१ गते पक्राउ परेका दासलाई अदालतबाट म्याद थप गरी फर्काउने क्रममा असोज २२ गते हतकडी फुत्काएर फरार भएका थिए।
फरार दासको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले गए राति ११ः३५ बजे उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












