मकवानपुर :- मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्न नदिन तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरी विद्युत् उत्पादन भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएको तथा लगातार वर्षा भइरहेकाले जलाशयको सतह बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर अधिकतम पानी प्रयोग गर्दै पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिएको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिए।
उनका अनुसार हाल कुलेखानी जलाशयको जलसतह १ हजार ५२२.७५ मिटर रहेको छ। कूल १०६ मेगावाट क्षमताको आयोजनाबाट पहिलो, दोस्रो र तेस्रो युनिटले क्रमशः ६०, ३२ र १४ मेगावाट विद्युत् उत्पादन गरिरहेका छन्।
जलसतह १ हजार ५२७ मिटर पुगेपछि सम्भावित जोखिमबारे सर्वसाधारणलाई पूर्वसूचना दिन साइरन बजाउने व्यवस्था गरिएको राउतले बताए।












