काठमाडौं :- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशमा सुशासन कायम गर्दै सरकारले निर्धारण गरेको राजस्व संकलनको लक्ष्य पूरा गरेरै छाड्ने बताउनुभएको छ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्षको तुलनामा करिब २७ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य महत्त्वाकांक्षी भए पनि सुशासनमार्फत हासिल गरिने बताउनुभयो।
सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। उहाँका अनुसार गत आर्थिक वर्षमा एक हजार २५० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।
करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा १२ खर्ब रुपैयाँ हाराहारी मात्रै राजस्व संकलन भइरहेको उल्लेख गर्दै उहाँले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताउनुभयो।
‘कोभिड महामारीपछि नेपालमा राजस्व संकलनको औसत वृद्धिदर सातदेखि नौ प्रतिशतमा सीमित छ। उक्त वृद्धिदरले मात्रै अपेक्षित लक्ष्य हासिल गर्न नसकिने भएकाले यसपटक २७ प्रतिशतको वृद्धि लक्ष्य निर्धारण गरेका हौँ,’ उहाँले भन्नुभयो।
अर्थमन्त्री वाग्लेले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा समेत जोड दिनुभयो।












