चितवन :- चितवनमा गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटनामा करिब ७३ प्रतिशतले कमी आएको छ। दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको सङ्ख्यासमेत घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ५८ जना घाइते भएका थिए। चालु आर्थिक वर्ष २०८३/८४ को दसैँ अवधिमा भने नौ वटा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
गत वर्षको तुलनामा यस वर्ष दुर्घटना २४ वटाले घटेको छ। त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले कमी आएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले प्रविधिको प्रयोग, कडा सवारी जाँच, चुस्त सुरक्षा व्यवस्था र ट्राफिक सचेतनाका कारण दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको बताए।
उनका अनुसार मुख्य स्थानमा जडान गरिएका सिसिटिभी क्यामेराबाट निगरानी, ट्राफिक प्रहरीद्वारा बडी वोर्न क्यामेराको प्रयोग र मुख्य सडक खण्डमा कडाइका साथ गरिएको सवारी जाँचले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याएको छ। चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउनु र ट्राफिक सचेतना बढाउनुले पनि दुर्घटना तथा मानवीय क्षति घटाउन योगदान गरेको उनले बताए।












