काठमाडौं :- नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताउनुभएको छ।
संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तनलाई पूर्णता दिन सबैको एकताबद्ध प्रयास आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने कुनै पनि प्रयत्न स्वीकार्य नहुने बताउँदै संयोजक दाहालले संविधानका मूल्य र जनअधिकार कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ।
“संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ,” उहाँको सन्देशमा उल्लेख छ।
संयोजक दाहालले संविधान नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमार्फत अधिकार र उपलब्धिलाई संस्थागत गर्दै समृद्धि तथा सामाजिक न्यायको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।












