काठमाडौँ :- असोज ९ देखि ११ गतेसम्म बागमती प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले प्रदेश सरकारले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका अनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्छ।
मन्त्रालयले नदी तथा खोला किनार, भिरालो जमिन, पहिरोको जोखिम भएका भूभाग र डुबान सम्भावित क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमको अवस्था देखिए तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत अनुरोध गरिएको छ।
यात्राका क्रममा सडक तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र अति आवश्यकबाहेक लामो दूरी तथा रातिको यात्रा नगर्न भनिएको छ। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती र बिरामीको सुरक्षामा विशेष ध्यान दिन पनि मन्त्रालयले आग्रह गरेको छ।
प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई समेत आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन निर्देशन दिइएको छ।












