काठमाडौँ :- प्रतिनिधिसभाले ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उनले प्रणालीगत तरलतालगायत विषय विद्यमान संरचनाबाट पर्याप्त रूपमा सम्बोधन हुन नसकेकाले अर्थतन्त्र सुधारका लागि विधेयक ल्याइएको बताए।
छलफलमा सांसदहरूले विदेशी डिजिटल भुक्तानीबाट नेपालले पाउने लाभ तथा कारोबारको सुरक्षाबारे स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड दिए। सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूलाई जानकारी गराएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका गएपछि अर्थमन्त्री वाग्लेलाई दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी तोकिएको पत्रसमेत बैठकमा पढेर सुनाइएको छ।












