काठमाडौँ :- भोटेकोशी बाढीपछि भदौ १० गतेदेखि बेपत्ता रहेका पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। प्रतीकात्मक शवमा उहाँका पिता डीलबहादुर थामीले दागबत्ती दिनुभएको थियो।
नयाँ पत्रिका दैनिकका पत्रकार थामी दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो। पत्रकारितामा स्नातकोत्तर गर्नुभएका ४१ वर्षीय थामीले एचबिसी एफएम, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा लामो समय काम गर्नुभएको थियो।
उहाँले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिता अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण तथा लेखनमा समेत योगदान पुर्याउनुभएको थियो। गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजकसमेत रहनुभएका थामी नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य, नेपाल थामी समाजका पूर्वउपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो।
चीनको स्वशासित क्षेत्र सिचाङको केरुङमा निर्धारित कार्यक्रममा सहभागी हुन उहाँ भदौ ९ गते साँझ मोटरसाइकलबाट रसुवाको धुन्चे हुँदै रसुवागढी पुग्नुभएको थियो। त्यसपछि भदौ १० गतेदेखि उहाँ सम्पर्कविहीन हुनुभएको थियो।
अन्त्येष्टिका क्रममा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले कुशको शवमा महासङ्घको झण्डा ओढाउनुभएको थियो। नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।
अन्त्येष्टिमा पूर्वमन्त्रीहरू पार्वत गुरुङ र आनन्द पोखरेल, रासस तथा नयाँ पत्रिकाका सम्पादकीय नेतृत्व, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, फोनिजका अध्यक्ष लक्की चौधरीसहित पत्रकार, सामाजिक, राजनीतिक तथा कानुन क्षेत्रका अगुवा र सहकर्मीहरूको उपस्थिति थियो।












