काठमाडौं :- नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको करिब तीन वर्षमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन्।
शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ‘युके शहर’को विमोचन गरिएको हो। गीत अहिले रिया खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ।
‘युके शहर’मा रिया खत्री र गायक क्रिश क्षेत्रीको स्वर तथा अभिनय रहेको छ। रियाले यसलाई आफ्नो सांगीतिक यात्राको नयाँ अध्यायका रूपमा लिएकी छन्। लामो मेहनत, संघर्ष र तयारीपछि गीत तयार गरिएको उनले बताइन्।
रियाका अनुसार ‘युके शहर’ नेपालमा रहेका दर्शक–श्रोतासँगै विदेशमा रहेका नेपाली समुदायलाई लक्षित गरेर तयार गरिएको हो।
“‘युके शहर’ मेरो लागि एउटा गीत मात्र होइन, मेरो सांगीतिक यात्राको एउटा सुन्दर सपना पनि हो,” रियाले भनिन्, “धेरै मेहनत र उत्साहका साथ तयार गरेको यो प्रस्तुतिलाई नेपाल र विदेशमा रहनुभएका नेपाली दर्शक–श्रोताले माया गरिदिनुहुनेछ भन्ने विश्वास छ।”
करिब तीन वर्षको सांगीतिक यात्रामा रियाले तीनवटा एल्बम सार्वजनिक गरिसकेकी छन्। उनले दर्जनौँ गीतमा स्वर दिएकी छन् भने विभिन्न कार्यक्रममा प्रत्यक्ष दोहोरीसमेत प्रस्तुत गर्दै आएकी छन्।
गायनसँगै मोडलिङमा समेत सक्रिय रियाले विभिन्न म्युजिक भिडियो तथा सांगीतिक प्रस्तुतिमा अभिनय गरेकी छन्। निरन्तर सिर्जना र प्रस्तुतिमार्फत दर्शकसँग जोडिँदै आएकी उनले डिजिटल माध्यमलाई समेत आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण आधार बनाएकी छन्।
रियाको सांगीतिक यात्रा नेपालमा मात्र सीमित छैन। उनले देशका विभिन्न जिल्लामा सांगीतिक प्रस्तुति दिनुका साथै विदेशमा रहेका नेपाली समुदायमाझ पनि कार्यक्रम गरिसकेकी छन्।
उनले मलेसिया, सिंगापुर, थाइल्यान्ड, कम्बोडिया, लाओस, भियतनाम, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र भारतलगायतका देशमा सांगीतिक प्रस्तुति दिइसकेकी छन्।
विदेशमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष जोडिँदा नेपाली गीत–संगीतप्रतिको उनीहरूको माया र अपनत्वलाई नजिकबाट अनुभव गरेको रियाले बताइन्। यही अनुभवलाई ‘युके शहर’मार्फत अझ व्यापक दर्शकमाझ पुर्याउन खोजिएको उनको भनाइ छ।
नेपालबाहिर रहेका नेपाली समुदायलाई समेत केन्द्रमा राखेर ‘युके शहर’ तयार गरिएको रियाले बताइन्। संसारको जुनसुकै ठाउँमा रहे पनि नेपाली भाषा, संस्कृति र संगीतसँग जोडिएका नेपालीको मनसम्म आफ्नो सिर्जना पुर्याउने उनको उद्देश्य छ।
“नेपालबाहिर रहनुभएका नेपाली पनि मेरो सांगीतिक यात्राको महत्वपूर्ण हिस्सा हुनुहुन्छ,” उनले भनिन्, “उहाँहरूसँग नेपाली संगीतमार्फत जोडिन चाहन्छु। ‘युके शहर’ले सबैको मन छुने विश्वास लिएकी छु।”
गीत सार्वजनिक गरेसँगै रियाले दर्शक–श्रोतासँग भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छन्। गीत मन परे साथीभाइ, परिवार र आफन्तसम्म पुर्याइदिन पनि उनले अनुरोध गरेकी छन्।
“एकपटक समय निकालेर ‘युके शहर’ हेर्नुहोस्, गीत सुन्नुहोस् र तपाईंलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस्। मन परे सेयर गरेर अझ धेरै नेपाली मनसम्म पुर्याइदिनुहोस्,” रियाले आग्रह गरिन्।
‘युके शहर’ अहिले रिया खत्रीको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ। उनले च्यानल सब्स्क्राइब गरी आगामी सांगीतिक यात्रामा साथ दिनसमेत दर्शक–श्रोतासँग अनुरोध गरेकी छन्।
नेपालदेखि विदेशसम्म आफ्नो सांगीतिक यात्रा विस्तार गरिरहेकी रियाका लागि ‘युके शहर’ नयाँ गीत मात्र नभई अहिलेसम्मको मेहनत, संघर्ष र दर्शकको मायालाई अझ फराकिलो बनाउने प्रयासका रूपमा आएको छ।












