काभ्रे :- वर्षासँगै लेदो माटो र गेग्रान खस्दा अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
जिल्लाको रोशी गाउँपालिका–९ स्थित पिन्थलीबेँसी नजिकै आज लेदो र गेग्रान खसेपछि सडक अवरुद्ध भएको थियो। मङ्गलटारबाट करिब तीन किलोमिटर भकुन्डेतर्फ नार्के र पिन्थलीबेँसीबीचको निर्माणाधीन सडकखण्डमा लेदो खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले बताए।
सडकमा थुप्रिएको लेदो र गेग्रान डोजरको सहायताले हटाएपछि यातायात सञ्चालनमा आएको उनले जानकारी दिए।
लगातार वर्षा भइरहे सडकका अन्य स्थानमा पनि पहिरो तथा लेदो खस्न सक्ने जोखिम रहेकाले प्रहरीले चालक र यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।












