गण्डकी :- कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकमा पदयात्राका क्रममा लेक लागेर बिरामी परेकी नवलपरासीको बर्दघाट नगरपालिका निवासी २५ वर्षीया रश्मी पुनको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
आज बिहान अचानक अस्वस्थ भएपछि उनलाई सिम्रिक एयरको हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।
पुनको हाल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। कोरीलगायत यस क्षेत्रका उच्च पहाडी भेगमा पदयात्राका क्रममा पर्यटकलाई लेक लाग्ने समस्या देखिने गरेको छ।












