काठमाडौँ :- दशैंको तयारीसँगै गुल्मीको तम्घासमा भेडा तथा च्याङ्ग्रा बिक्रीका लागि ल्याइएको छ। धार्मिक परम्परा र भाकलका लागि भेडा खरिद गर्ने चलनका कारण दशैंको समयमा भेडा–च्याङ्ग्राको व्यापार बढ्ने गरेको छ।
यस वर्ष बागलुङको ढोरपाटनबाट व्यवसायीले करिब एक सय वटा भेडा तथा च्याङ्ग्रा तम्घास ल्याएका छन्। असोज ४ गतेदेखि यात्रा सुरु गरेका व्यवसायीले दशैंलाई लक्षित गरी पशु बिक्री गर्न थालेका हुन्।
तम्घासमा अहिले साना तथा ठूला भेडा–च्याङ्ग्रा आकारअनुसार बिक्री भइरहेका छन्। च्याङ्ग्राको जिउँदो तौल प्रतिकिलो १ हजार २०० रुपैयाँ र भेडाको प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ। दशैं नजिकिएसँगै बजारमा यस्ता पशुको माग बढ्ने अपेक्षा गरिएको छ।












