काठमाडौँ :- प्रतिनिधिसभाले आर्थिक विषयसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ती विधेयक सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गरे।
यसैबीच, पूर्वसांसद घनेन्द्र बस्नेतको असोज १४ गते निधन भएकामा प्रतिनिधिसभा बैठकले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
प्रतिनिधिसभाको अर्को बैठक असोज १६ गते शुक्रबार बिहान ११ बजे बस्नेछ।












