काठमाडौँ । धितोपत्र बजारमा आज अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २२४ कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक १६ दशमलव ४७ अंकले ओरालो लागेको हो।
आजको गिरावटसँगै नेप्से परिसूचक दुई हजार ६१३ दशमलव ३३ विन्दुमा कायम भएको छ। यो अघिल्लो कारोबारको तुलनामा शून्य दशमलव ६२ प्रतिशतको गिरावट हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३४ अंकले घटेर ४६७ दशमलव ६७ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक १८० दशमलव शून्य सात र सेन्सेटिभ फ्लोट सूचक १५७ दशमलव ८८ विन्दुमा झरेका छन्।
आज बजारमा एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर खरिदबिक्री भएका छन्। कुल पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
१३ उपसमूहमध्ये व्यापार उपसमूह शून्य दशमलव २३ प्रतिशतले बढेको छ भने अन्य सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ।
आज ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने छ कम्पनीको मूल्य स्थिर रहेको छ। मूल्य बढ्ने कम्पनीमा केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर र प्राइम बैंक डिबेञ्चरलगायत रहेका छन्।
यसैगरी, हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डलगायतका लगानीकर्ताले आजको कारोबारमा गुमाएका छन्।












