काठमाडौँ :- राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढी विपद्को खोज, राहत तथा पुनःस्थापनाका लागि प्रतिनिधिसभाबाट गठन गरिएको विशेष संसदीय समितिमा राष्ट्रियसभाको समेत प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले समितिमा राष्ट्रियसभाबाट प्रतिनिधित्व गराउनुपर्ने बताउँदै भोटेकोशी बाढी जलवायु परिवर्तनसँग सम्बन्धित भएकाले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु न्यायको विषय प्रभावकारी रूपमा उठाउनुपर्ने बताए। उनले प्रभावितका लागि राहत तथा पुनःस्थापना प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए।
एमाले सांसद सोनाम गेल्जेन शेर्पाले नेपालमा २ हजार ७० हिमतालमध्ये २१ वटा जोखिममा रहेको उल्लेख गर्दै भोटेकोशी बाढीले हिमालय क्षेत्रमा देखिएको नयाँ जोखिमबारे अध्ययन र अन्तर्राष्ट्रिय बहस आवश्यक रहेको बताए। अन्य सांसदहरूले पनि खोज तथा राहतलाई प्रभावकारी बनाउन, पूर्वाधार पुनःनिर्माण तीव्र बनाउन तथा विपद्पछि प्रभावितको पुनःस्थापना सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।












